पुस १७, २०७३-
यहाँको गल्याङ–चापाकोट–दामाचौर ग्रामीण सडकखण्ड निर्माण सुरु भएको २४ वर्षपछि ग्राभेल हुने भएको छ । हालसम्म बेवारिसे जस्तै भएको यो सडकखण्ड व्यापारिक तथा अन्य दृष्टिकोणबाट महत्वपूर्ण मानिन्छ ।
जिल्लाको क्षेत्र नम्बर तीनअन्तर्गतका अधिकांश गाविसहरुलाई राजमार्गसँग जोड्ने यो सडक ग्राभेल हुने भएपछि स्थानीयहरु निकै हर्षित छन् । यहाँको चारवटा नगरपालिकामध्येको चापाकोट नगरपालिकालाई यही सडकखण्डले जोड्दछ ।
कृषि उपज उत्पादनको दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिने यो क्षेत्र सिदार्थ राजमार्गसँग जोडिने भएपछि उत्पादित कृषि उपजले सहजका साथ बजार पाउने भएपछि यहाँका कृषकहरु दंग छन् ।
२४ वर्षअगाडि ट्रयाक खोलीएको भए तापनि यो सडकखण्ड खाल्डाखुल्डी र साँघुरो भए तापनि यसको बाबजुद ठूलो जोखिम मोलेर केही सवारी साधनहरु चल्दै आएका थिए । यो खण्ड ग्राभेल भएपछि सिद्धार्थ राजमार्गको गल्याङदेखि चापाकोट नगरपालिकासम्म करिब ४५ मिनेटमा आवतजावत गर्न सकिन्छ । यसभन्दा अगाडि साना सवारी साधनहरुलाई समेत करिब ३ घण्टा समय लाग्थ्यो ।
गल्याङदेखि चापाकोटसम्म कूल २६ किलोमिटरमध्ये करिब २३ किलोमिटर सडकखण्ड ग्राभेल हुने र त्यसलगत्तै कालोपत्रे समेत गरिने निर्माणाधीन सडकका अध्यक्ष बुद्धिमान श्रेष्ठले बताए ।
उनका अनुसार आर्थिक वर्ष ०७२/०७३ मा राष्ट्रिय योजना आयोगअन्तर्गतको रातो किताब भाग १ मा पर्न सफल यो सडकखण्ड बहुवर्षीय ठेक्कामा २३ करोड रुपैयाँ विनियोजन भई सम्झौता कार्य सम्पन्नपश्चात् काम थालनी भएको हो । ‘लामो समयदेखि जोखिमपूर्ण अवस्थामा सवारी साधनहरु चल्दै गरेको यो सडकखण्डमा कसैले ध्यान नदिँदा स्तरोन्नती हुन सकेको थिएन । अब भने यसलाई कालोपत्रेसम्म गराइछाड्ने अठोट लिएका छौं । यो सडकखण्ड साँघुरो र जोखिमपूर्ण भएकाले फराकिलो गर्ने कार्य समेत सँगसँगै भएको छ ।’
गल्याङको बुटवल पावर कम्पनीदेखि पूर्व दामाचौरसम्म ग्राभेल कार्य नै पहिलोपटक थालिएको हो । जिविसको न्यून बजेटबाट निर्माण गरिने भनिए तापनि लामो समयसम्म जिविसद्वारा छुटाइएको बजेट कच्चीसडकको खाल्डाखुल्डी पुर्न मात्र सीमित बनेकोले यो सडकखण्ड नै बेवारिसे बन्न पुगेको उनले बताए ।
यो सडकखण्ड पहिलोपटक भौतिक मन्त्रालयअन्तर्गत १ नम्बर योजनामा पर्न सफल भएपछि ग्राभेल सुरु गरिएको उनको भनाइ छ । यति लामो समयसम्म पनि राम्रोसँग मर्मत समेत हुन नसकेको यो सडकखण्ड ग्रामीणस्तरकै लामो दूरी, अनगिन्ती घुम्ती, साँघुरो खाल्डाखुल्डीयुक्त भएका कारण निकै जोखिमपूर्ण यात्रा गर्न बाध्य त्यहाँका स्थानीय अब भने सजिलो र छोटा समयमै राजमार्गसम्म पुग्न सक्ने छन् । सवारी साधनको नाममा मोटरसाइकल र जीपहरु मात्र चल्दै आएको यो सडकखण्डमा अब भने ठूला सवारी साधन साथै यहाँबाट लामो दूरीसम्मका सवारी साधनहरु छुट्ने छन् ।
जोखिम भएकै कारण यसभन्दा अघि चल्दै आएका मिनिबससम्मका सवारी साधनहरुलाई बन्देज लगाइएको थियो । नाली काटेर साढे ८ मिटर चौडाईका साथ २३ किलोमिटर सडक ग्राभेल गरिने र ग्राभेलपश्चात् कालोपत्रे गरिने योजना रहेको इन्जिनियर विष्णु पाण्डे बताउँछन् । ‘
दुई वर्षको लागि सम्झौता भएको यस सडकखण्डमा धमाधम काम भइरहेको र तोकिएको समय अगावै योजना मुताविकको काम सम्पन्न गरिने छ ।’ उनले भने, ‘ग्राभेल पछि लगत्तै कालोपत्रे नगरिने हो भने जोखिमयुक्त सडकमा झन् थप जोखिम सृजना हुन्छ ।’ उनले लामो दूरी र दैनिक रुपमा धेरै सवारीसाधनहरु आवतजावत गर्न सक्ने भएकाले साँघुरो बाटोलाई थप फराकिलो बनाउनुपर्ने बताए ।
Post a Comment