


शिव श्रेष्ठ सञ्चालक, कीर्तिपुर मोटर ड्राभिङ ट्रेनिङ इन्स्टिच्युट
दुईपांग्रे सवारीसाधनको लाइसेन्स प्राप्त गर्न फारम भर्नेहरूको भीड यातायात व्यवस्था विभागमा दिनहुँ देखिन्छ ।
लामो लाइन र धेरै दुःख गरेर लिखित परीक्षामा उत्तीर्ण भए पनि ट्रायलमा अनुत्तीर्ण हुँदा जो–कोहीलाई पनि दुःख लाग्नु स्वाभाविकै हो । विभागले दुईपांग्रे सवारीमा दैनिक करिब पाँच सयजनाको ट्रायल परीक्षा लिने गरेको छ । तीमध्ये केही परीक्षार्थी ट्रायलका विभिन्न चरणबारे थाहा नपाउँदा पनि अनुत्तीर्ण हुने गरेको पाइएको छ ।
ट्रायल दिनुअघि सोसम्बन्धी सम्पूर्ण जानकारी र तयारी गरेर जानु उत्तम हुन्छ । ट्रायल दिन जाँदा यस्ता विषयमा जानकारी राख्नु फाइदाजनक हुन्छ ः
ट्रायलमा सवारी चलाउन सुरु गर्नुअघि हेल्मेट लगाउने र फित्ता बान्न बिर्सनु हुँदैन । त्यस्तै, लुकिङ ग्लास मिले÷नमिलेको हेर्ने र साइड लाइट पनि बल्ने÷नबल्ने परीक्षण गर्नुपर्छ ।
ट्रायलमा सबैभन्दा पहिला अंग्र्रेजी अंकको एटमा प्रवेश गर्दा जतिसक्दो कम स्पिडमा अगाडि बढ्नुपर्छ । एटको बाहिरी घेरालाई अगाडिको चक्काले च्यापेर बिस्तारै संकेतअनुसार अगाडि बढ्नुपर्छ ।
एट पूरा गरिसकेपछि सोही दिशाबाट आधा राउन्डमा एस बनाएर बाहिर निस्कनुपर्ने हुन्छ ।
यसरी एटबाट निस्केपछि जेब्राक्रसिङ पुग्नुअगावै ट्राफिक लाइट हेर्न बिर्सनु हुँदैन । ट्राफिक लाइट पहेँलो या रातो बलेको छ भने जेब्राक्रसिङ लाइन नछोईकन रोकेर बस्नुपर्छ । त्यस्तै, ग्रिन लाइट बल्दा अगाडि बढ्नुपर्ने हुन्छ ।
जेब्राक्रसिङबाट अगाडि बढेपछि साँघुरो फल्याकबाट जानुपर्छ ।
यो क्रममा फल्याकको मध्यभागमा पुगेपछि बायाँ साइडको साइडलाइट बाल्नुपर्छ ।
त्यसपछि यू–टर्नमा बिस्तारै बायाँ साइड घुमेर उकालो उक्लँदा स्टप लेखिएको स्थानमा दुईवटा धर्कालाई नछोईकन बीचमा रोक्नुपर्ने हुन्छ । उकालोमा रोकेर अगाडि बढ्नुभन्दा पहिला साइड लाइट अफ गर्न बिर्सनु हुँदैन ।
त्यसपछि ट्राफिकको इसारा पाएपछि पछाडि नहटाईकन अगाडि बढ्नुपर्छ ।
फेरि ओरालोमा अगाडिको एउटा धर्कोलाई नछोईकन र चक्का नघिस्य्राई रोक्नुपर्ने हुन्छ । त्यसपछि फेरि ट्राफिकको इसाराअनुसार उबडखाबडको बाटोमा अगाडि बढ्नुपर्छ । यो क्रममा ह्यान्डललाई बलियो गरी समाएर थोरै एक्सिलेटर लिँदै पाइपको बाटो पार गर्नुपर्छ । त्यसपछि दुईपांग्रेको स्टार्ट अफ गर्ने या न्युट्रलमा राख्नुपर्छ । स्टार्ट अफपछि सवारीको स्ट्यान्ड राम्रोसँग राख्न पनि भुल्नु हुँदैन ।
सवारी स्टार्ट गरेदेखि अन्तिममा नरोकेसम्म ह्यान्डलबाट दुइटै हात हटाउनु हुँदैन । यति चरण पूरा गरेपछि सवारीचालक अनुमतिपत्र लिन योग्य भइन्छ ।
नयाँ पत्रिकाबाट
नयाँ पत्रिकाबाट



Post a Comment