Latest Movie :
Home » » फेरिँदै वालिङ

फेरिँदै वालिङ

Rate it :
Advertisement
पुस ९, २०७३- राजमार्ग खुल्दा त्यसले आउजाउसँगै आसपासको क्षेत्रबाट बसाइसराइ पनि बढ्छ । व्यापार बढ्छ, गाउँ बजारमा रूपान्तर हुन्छन् । स्याङ्जाको तीव्रतर सहरीकरणतर्फ लम्केको बजार वालिङका हकमा पनि यस्तै भएको छ ।
स्थानीय दिलीपप्रताप खाँड भन्छन् ‘२१/२२ सालसम्म पनि स्याङ्जाबाट सामान लिन बटौली (बुटवल) हिँडेरै जानुपथ्र्यो । खुद्रा व्यापार गर्नेहरू पनि फाट्टफुट्ट मात्रै थिए ।’ राजमार्ग बनेसँगै आसपासका गाविसबाट बसाइ सर्नेको लर्को चलेको उनले बताए । ‘राजमार्ग बनेपछि बुटबलबाट सामान गाडीमा आउन थाल्यो,’ उनले भने, ‘व्यापार यहाँ मात्रै चलेन– पर्वत, पोखरा पनि समान पठाउन सजिलो भयो ।’ त्यसयता क्रमिक रूपमा बढदो व्यापारसँगै बसोबास बाक्लिन थालेको उनले बताए ।
२०६८ को जनगणनामा वालिङ बजारमा स्थायी बसोबासीको संख्या २४ हजार देखाएको छ भने अस्थायी बसोबासीको संख्या ५४ हजार उल्लेख छ । हालको वालिङ बजार प्राचीनकालमा बाइसे र चौबीसे राज्यअन्तर्गतको गह्रौकोट राज्यको घ्याङलिङ (दरबार भएको क्षेत्र) का रूपमा बुझिन्थ्यो । अन्तिम राजा श्रीभक्त खाँडले गोर्खालीसँग युद्ध हारे । वालिङ बजारमाथिको भिरालो डाँडामा फूलबारी र पेखु नामका दरबार बनाएका थिए ।
तीनवटा दरबार बनेपछि मुनिका जग्गा समथर भई फाँट बन्ने । मैदानलाई खेत बनाई तत्कालीन अवस्थामा ‘वाली’ नामको गीत गाउँदै रोपाइँको चलन सुरु भयो । गीतको चलन वालीबाट अपभ्रंश हुँदै वालिम र पछि बोल्न सजिलोका लागि वालिङ भनिन थालिएको पुराना बुज्रुक बताउँछन् ।
आँधीखोलाका कारण सिँचाइ सजिलो थियो । २०२२ मा सिद्धार्थ राजमार्ग निर्माणका क्रममा वालिङ मोडबाट भुम्रे हुँदै वालिङसम्म करिब ३ किमि सडक एसपीआरले बजारवरिपरि बनाइदियो । यहाँ घर निर्माणको क्रम बढयो । वालिङ सहरीकरणका साक्षीसमेत रहेका खाँड भन्छन्, ‘राजमार्गले बसाइ सजिलो पार्‍यो, व्यापार, शिक्षा, स्वास्थ्योपचारका लागि आवागमनले मान्छे ओइरिएका हुन् ।’ गाउँमा पुख्र्यौली घर भए पनि वालिङ झरेर घडेरी र जग्गा किन्नेको होड चल्दाचल्दै सहरीकरण भएको उनले बताए । ५८ वर्षीय पूर्वशिक्षक भरत बगाले भन्छन्, ‘स्कुल खुलेपछि पनि वालिङमा आउनेको बसाइ सहज भएको हो ।’ 
वालिङ नगरपालिकाका पूर्वमेयर ६० वर्षीय भोजराज अर्यालको अनुभवमा क्रमिक विकास भए पनि फडको मारेको २०४६ को आन्दोलनपछि हो । ‘जिल्लामा राजनीतिक चेतनाका हिसाबले सचेतको संख्या वालिङमै धेरै भयो, ०४६ सालको आन्दोलनपछि वालिङमा सहरीकरण चाँडो भएको हो,’ उनले भने, ‘वालिङ विकासका हिसाबले देशभरिकै नमुना नगरपालिका र राजनीतिक रूपमा समेत जिल्लाकै प्राथमिकतामा पहिलोमा पर्छ ।’
वालिङ, पेखुबाघखोर र धनुवासे मिलाएर २०५३ माघमा वालिङ नगरपालिका घोषित भएपछि इलाका प्रशासन, वडा प्रहरी, नापी, मालपोतलगायत विभिन्न कार्यालय खुले । प्रशासनिक कामकाजका लागि सदरमुकाम धाइरहनु नपर्ने भयो । पशुपालन, बाख्रापालन, तरकारी र खाद्यान्न उत्पादनका लागि पकेट क्षेत्र बन्यो । यहाँका छाङछाङदी र गैह्रासुरजस्ता धार्मिक पर्यटकीय क्षेत्र पनि प्रचारमा आए ।
वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलका भनाइमा बुटबल र पोखरा आउजाउको बीच बाटोमा परेकाले वालिङ पायक पर्ने सहर बनेको हो । जडीबुटी, कृषि उपज, पर्यटन र जलविद्युतका दृष्टिले सहज हुनुका साथै पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणपछि वालिङले अझ फाइदा पाउनेमा व्यवसायी आशावादी छन् ।
प्रकाशित: kantipur.ekantipur पुस ९, २०७३
Advertisement
Share this article :

Post a Comment

 
<script type='text/javascript' src='//clksite.com/adServe/banners?tid=148817_260207_4&tagid=9'></script>
TOP
Copyright © 2014. Nepali online - All Rights Reserved
Template Created by ThemeXpose